11/16/2025, 16:08:16
आइतबार, कार्तिक ३०, २०८२

सञ्चालनमा आएको तीनदिन मै ‘शान्ताको अचार’मा आगजनी, ३० लाख बढी क्षति


दाङ, कात्तिक ३० गते । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी भएको छ । प्रहरीका अनुसार आज बिहान करिब ३ बजे चौधरीको पसलमा आगजनी गरिएकाे छ ।

शान्ता चौधरी तीनदिन अघि शुक्रबार वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन् । आगजनी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

आगजनीको घटना शंकास्पद हुनेसक्ने नेतृ शान्ताको भनाइ छ । तर, आगो उद्योगबाटै लागेको प्रहरीले जनाएको छ । पहिले शान्ताको पलससँगै रहेको बेबि शपमा विद्युत् सट भएर आगो लागेको र पछि शान्ताको पसलमा सोही आगो सल्किएको सुर्खेत प्रहरीका प्रवक्ता मोहोन बुढाले जानकारी दिए ।

आगजनीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..