मङ्गलबार, पुष ०९, २०८१

‘छक्कापञ्जा ५’ को सातौं दिन सम्म ११ करोड ५० लाख ग्रस कमाइ, गर्‍यो श्रृंखलाकै उच्च डेब्यु


२ कात्तिक, काठमाडौं । ‘छक्कापञ्जा ५’ले पहिलो साता घरेलु बक्स अफिसमा श्रृंखलाकै उच्च डेब्यु गरेको छ । दशैंको फूलपातिमा रिलिज भएको फिल्मले सातौं दिन (बुधबार)सम्म ११ करोड ५० लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार पहिलो साताको औपचारिक कलेक्सन सार्वजनिक गरेको छ । पाँचौ श्रृंखलाले अघिल्लो भाग अर्थात चौंथो श्रृंखलाको पहिलो साताको कलेक्सनलाई पनि उछिनेको छ ।

चौंथो श्रृंखलाले पहिलो साता ८ करोड ग्रस हाराहारीमा डेब्यु गरेको थियो । ‘पहिलो साता यो फिल्मले जसरी कमाइ गर्‍यो, यो गति तिहारसम्मै जाने अनुमान छ । चाडपर्वभरि पारिवारिक दर्शक आउने भएकाले तिहार र छठ्सम्मै छक्कापञ्जाको वेभ रहने हाम्रो विश्लेषण छ ।’ वितरक मनोज राठीले भने ।

PHOTO CREDIT : KALAKARMI

काठमाडौं र मोफसलमा कमाइको हिस्सा करिब समान रहेको राठीको भनाई छ । ‘पछिल्लो समय मोफसलमा हलको संख्या वृद्धि भएसँगै शो संख्या पनि बढेको छ । शनिबारसम्म १५ करोडको कमाइ हुने हाम्रो विश्लेषण छ ।’ वितरक मनोज राठीले भने ।

फूलपातिमै रिलिज भएका अन्य दुई फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले औपचारिकरुपमा कलेक्सन सार्वजनिक गरेका छैनन् । जसमध्ये ‘१२ गाउँ’को कमाइ पनि आक्रामक देखिएको छ । विराज भट्ट निर्देशित फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा ७ करोड हाराहारीमा कमाइ गरेको अनुमान छ । तर, यसबारे वितरकले केही बताएका छैनन् । अर्कोतर्फ, जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ले साताको उत्तराद्र्धमा व्यवसायिक लय समातेको देखिएको छ । यो फिल्मले पाएको शोको अकुपेन्सी पनि उत्साहजनक देखिन्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading