काठमाडौँ, कात्तिक २३ : इन्दिरा लाछिमस्युको करिब ३० वर्षपहिलेसम्म महिलाले बाजा छुनसम्म पनि हुन्न भन्ने परम्परादेखि धिमेमैँचाको उपाधि पाउँदासम्मको यात्रा समेटिएको बायोपिक चलचित्र ‘इन्दिरा धिमेमैँचा’ प्रदर्शन भएको छ । सो चलचित्रमा धिमे बाजा सिक्न इन्दिराले गर्नुभएको सङ्घर्ष र उपलब्धिलाई समेटिएको छ ।
विगतमा नेवार पहिचान बोकेको धिमेलगायत अन्य बाजागाजा महिलाले छुन नमिल्ने परम्परा थियो । धिमेलगायत अन्य बाजागाजा बजाउन अगाडि पूजा गर्ने देवता नासःद्योलाई महिलाले छुन हुन्न, पूजा गर्नुहुन्न भन्ने मान्यता थियो । इन्दिरा लाछिमस्यु (धिमेमैँचा) को घरमा बालक/किशोरलाई धिमे बाजाको प्रशिक्षण दिइन्थ्यो । उहाँलाई छ/सात वर्षको उमेरमा सुनेको धिमे बाजाको धुनले निकै आकर्षित ग¥यो । त्यो बाजा मैले पनि सिक्न पाए हुने भन्ने विचार गरी आमाबुवालाई सोध्दा धिमे बाजा पुरुषले मात्र बजाउने बाजा हो, महिलाले बजाउनु हुन्न भन्नुभयो ।
बालिका इन्दिराको मनमा देवता पूजा गर्न नहुने, धिमे बाजा त छुनै नुहुने भन्ने कुराले कौतूहलताका साथै विद्रोह भाव उत्पन्न भयो । भक्तपुर दत्तात्रय निवासी इन्दिरा बालसखाहरूसँग खेलिरहेको बेलामा पनि आफ्नै घरमा धिमे/नौ बाजा गुरुले विद्यार्थीलाई सिकाइरहँदा खेल्न छोडेर बाजाको ताल बोल लुकी लुकी सिक्न थाल्नुभयो तर किशोर केटाहरूलाई सिकाइरहेको ठाउँमा वाद्य गुरुहरूले इन्दिरा महिला भएकै कारण बस्न दिनु भएन तर धिमे बाजा सिक्ने इच्छाले छटपटाइरहेकी इन्दिराले अरूलाई सिकाइरहेको बेला बाजाको बोल, ताल टिप्दै घ्याम्पो, थाल ठटाउँदै निरन्तरको जिद्दीले बाजा बजाउन सिक्नुभयो । त्यो सिपले उहाँलाई नेपालमा मात्र होइन, विदेशमा समेत चर्चित बनायो । धिमे बाजा बजाउने महिलाका रूपमा उहाँले ‘धिमेमैँचा’ को उपमा पनि पाउनुभएको छ ।
तीन दशकअगाडि उहाँले घरमा त जिद्दी गरी सिक्नुभयो तर त्यसबेलाको समाजले गर्ने व्यवहारलाई अभिभावकको साथले जितेको सङ्घर्षलाई चलचित्रको पर्दामा हेर्न सकिन्छ । उहाँको बाल्यकालको भूमिका सिम्रिक श्रेष्ठले निर्वाह गर्नुभएको हो । उहाँको विवाहपछिको भूमिका रोजिना सुवाल र श्रीमान्को भूमिकामा रूपेन्द्र श्रेष्ठ हुनुहुन्छ । मदनकृष्ण श्रेष्ठ अतिथि कलाकारको भूमिकामा देखिनुभएको छ । धिमेमैँचाको कथा लेखन तथा निर्देशक सुरेन्द्र तुलाधर (ख्वटाबजी) ले गर्नुभएको छ । धिमेमैँचाका निर्माताहरू गोपालकृष्ण महर्जन, सुरेन्द्र शाक्य, रमिता श्रेष्ठ रहनुभएको छ । चलचित्रमा सङ्गीत निल शाक्य र सुरेन्द्र श्रेष्ठले दिनुभएको छ । चलचित्र धिमेमैँचाको गीतमा पवित्र कसाः निशा देशार, सतीश महर्जन, बालिका प्रधानले स्वर दिनुभएको छ ।
चलचित्रामा फिरोज वज्राचार्य र जीवित महर्जनले सङ्गीत संयोजन रहेको छ । नृत्य निर्देशक रोहिया महर्जन, राहुल बराइलीले गर्नुभएको छ ।
दिव्य सुवेदीको छायाङ्कनमा बनेको चलचित्र धिमेमैँचाको सम्पादन सुजन बरालले गर्नुभएको छ । काठमाडौँ उपत्यकाका विभिन्न हलमा प्रदर्शनपछि विश्वका विभिन्न देश अमेरिका जर्मन, फ्रान्स, जापान, बेलायत दुबई क्यानडा दक्षिण कोरिया र अस्ट्रेलियामा समेत प्रदर्शन गर्ने योजना रहेको चलचित्र निर्देशक सुरेन्द्र तुलाधरले जानकारी दिनुभयो ।
– शिवा तामाङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











