11/03/2025, 20:00:28
सोमबार, कार्तिक १८, २०८२

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण


दमौली (तनहुँ),  कात्तिक १७ गते ।  तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।

शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।” यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो ।

मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..