10/30/2025, 20:41:23
बिहिबार, कार्तिक १४, २०८२

विकासका लागि सञ्चालित महायज्ञमा ७० लाख दान सङ्कलन


दमौली (तनहुँ), कात्तिक १३ गते । आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौं दिन बुधबार १७ लाख दान सङ्कलन भएको छ ।

आँबुखैरेनी-३ मा सञ्चालित महायज्ञमा उक्त दिन १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७० लाख सङ्कलन भएको छ ।

जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्ने छ । महायज्ञबाट दश करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ, भने करिब ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइँली गोरखकालीमाई, काइँली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल हेर्न सकिन्छ । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

छिम्केश्वरीमा हाल वार्षिकरुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिकरुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छ  ।

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..