10/21/2025, 15:57:05
मङ्गलबार, कार्तिक ०५, २०८२
अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा

अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा हुँदै


म्याग्दी,कात्तिक ४ : अपाङ्गता भएका पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा गर्न लागिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा समावेशी पर्यटन प्रवर्धन र अपाङ्गता मैत्री पदमार्ग निर्माणका लागि पदयात्रा गर्न लागिएको हो ।

अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालको आयोजनामा भोली कात्तिक ५ देखि ९ गतेसम्म अपाङ्गता भएका व्यक्तिहरु मौरिस हर्जोग पदमार्ग हुँदै आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधारशिविरसम्म पदयात्राको आयोजना गरिएको सञ्जालका अध्यक्ष विशाल विकले बताउनुभयो ।

पदयात्रामा ८ जनासम्म सहभागी हुने उहाँले जानकारी दिनुभयो । मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा सवै खाले अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पु¥याउन र समावेशी पर्यटन प्रवर्धन गर्न अन्नपूर्ण पदयात्रा गर्न लागिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिहरुको पदयात्राले अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गको पर्यटन प्रवर्धनमा टेवा पु¥याउने छ । अपाङ्गता भएका व्यक्तिहरु पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।’’

चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण आधार शिविरसम्म अपाङ्गता भएका व्यक्तिहरुको पदयात्राले समावेशी पर्यटन र अपाङ्गता क्षेत्रमा नयाँ अध्यायन हुने उहाँले बताउनुभयो ।

नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलाबाट दुईदिनमा आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाईँमा यतिखेर आधार शिविर बनेको छ ।

पदमार्गमा झरना, मनमोहक हिमश्रृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ ।

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

– ठाकुरप्रसाद आचार्य