10/18/2025, 14:07:41
शनिबार, कार्तिक ०२, २०८२

रवि लामिछाने र छविलाल जोशीको फाइल पेस गर्न उच्च अदालत तुलसीपुरको आदेश


बुटवल, कात्तिक १ : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकोमा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो ।

एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगो अनुसारको रकम बुझाएर कारागार बाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेकामा जिल्ला अदालतले अस्वीकार गरेको थियो । त्यसपछि जोशीले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिनुभएको थियो । यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उहाँ उच्च अदालत जानुभएको थियो । उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो ।

जेन-जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो तर आगजनी र तोडफोडमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बचेका फाइलमध्ये बिहीबार लामिछानेको मुद्दाको पेसी चढेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय राई र अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको हो । उहाँले भन्नुभयो, “अब दुवै मुद्दाको फाइल एकसाथ एउटै इजलासमा पेस हुन्छन् । अर्को पेसी कहिले तोकिन्छ टुङ्गो छैन ।

सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो । यसअघि उहाँले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उहाँको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपियाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गर्नुभएको थियो । लामिछाले दुई करोड ७४ लाख ८४ हजार रुपियाँको बैङ्क जमानत निवेदनसाथ पेस गर्नुभएको थियो । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गर्नुभएको थियो ।