10/18/2025, 04:17:45
शुक्रबार, कार्तिक ०१, २०८२

‘पार्टीभित्रको अनुशासन कायम गर्न नसकेकोमा आत्मालोचना गर्छु’

कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिनेगरी गालीगलौज चाहिँ कसैले नगरौँ। पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।


काठमाडौं, असोज ३१ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गर्नुभएको छ। शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उहाँले आफ्ना धारणा राख्नुहुँदै पार्टीमा देखिएका कमीकमजोरीबारे स्वीकार गर्नुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन । अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।’ उहाँका अनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ। उहाँले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिनेगरी गालीगलौज चाहिँ कसैले नगरौँ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविक भन्दै त्यसलाई संगठनात्मक सिष्टताभित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।

बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणी गर्दै आफूविरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेका आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।” अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राख्नुभयो। अध्यक्ष ओलीले राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यका रूपमा अघि बढाउने संकल्प गर्नुभयो ।