10/05/2025, 11:42:35
आइतबार, असोज १९, २०८२

सुनसान शून्यतामा सुस्ताउँदै सौराहा


नारायणगढ, असोज १९ : दसैँ आसपासको समय पर्यटकीय नगरी सौराहाका लागि पर्यटक आउने मुख्य सिजन मानिन्छ तर यस वर्ष मनसुनी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमले सौराहा सुनसान छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डे अहिलेसम्म नभएको शून्यता सौराहामा देखिएको गुनासो गर्नुहुन्छ ।

होटेल सुनसान छन् । अहिले सौराहाका होटेलमा १० प्रतिशत अकुपेन्सी पनि छैन,” उहाँले थप्नुभयो, “पर्यटक आउने मुख्य सिजन हुँदै गर्दा देशमा जेन-जीको आन्दोलन भयो । अहिले आन्दोलनको प्रभाव मत्थर हुँदै थियो वर्षा र बाढीपहिरोको जोखिमले पर्यटक आएनन् ।”  दसैँको टीकापछि नेपालीसमेत सौराहा घुम्न आउनेमा यो वर्ष त्यो शून्यप्रायः रहेको पनि उहाँले जनाउनुभयो ।

बर्सातका कारण अहिले चितवन आउने प्रायः सडक अवरुद्ध छन् । काठमाडौँ र पोखरावाट आउने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडक स्थानीय प्रशासनले शनिबारबाटै बन्द गराएको छ । यस्तै चितवन र लुम्बिनी जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पनि दाउन्नेमा समस्या छ । यसको प्रत्यक्ष प्रभाव पर्यटन व्यवसायमा परेको बताइन्छ । अझ वर्षाले गर्दा शनिबारदेखि हवाई सेवासमेत सञ्चालन हुन नसक्दा पर्यटन क्षेत्रमा प्रभाव झनै सुस्ताएको हो । निरन्तर झरी र सम्भावित जोखिमको त्रासले आएका पर्यटक पनि फर्कन समस्या झेलिरहेका छन् । दसैँको मौका पारेर शुक्रबार सपरिवार सौराहा घुम्न आउनुभएका रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक रमेश पौडेल काठमाडौँ फर्कन समस्या भएको बताउनुहुन्छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अहिले म हेटौँडा हुँदै काठमाडौँ फर्कंदै छु । हेरम् यो बाटो पनि कत्तिको समस्या छ,” उहाँले भन्नुभयो । मुख्य सिजनमै आन्दोलन र अहिले बर्सातका कारण सौराहालाई समस्या परेको अध्यक्ष पाण्डेको भनाइ छ । उहाँले विदेशीको राम्रो बुकिङ थियो तर आन्दोलनले धेरैजसो बुकिङ क्यान्सिल भए । झन् झरीले त समस्या नै पा¥यो । बल्झिएको घाउमा नुनचुक दले जस्तै भयो भन्नुभयो । देशकै मध्य भागमा रहेको चितवनमा २७५ मध्ये सौराहामा ११६ होटेल छन् । जसमा १० हजार छ सय बेड सङ्ख्या रहेको चितवनका होटेलमा सौराहामा मात्रै पाँच हजारभन्दा बढी बेड रहेका पर्यटनविज्ञ डा. विश्व सुवेदीले जानकारी दिनुभयो ।

चितवनमा होटेल र लजमा मात्रै ३० अर्ब लगानी छ । यो सौराहामा मात्रै ७० प्रतिशतभन्दा बढी हो । यसरी नै होटेलमा आउने पर्यटकमा ह्रास आउँदै गए यसले यो क्षेत्रको लगानीमै असर गर्छ,” उहाँले भन्नुभयो । चितवनका होटेल तथा रेस्टुरेन्टमा १६ हजार पाँच सयले पूर्ण तथा आंशिक रोजगारी पाएका छन् । होटेल क्षेत्रमा यसको प्रभाव परे रोजगारीमा समेत असर गर्ने देखिन्छ ।

विश्व सम्पदासूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार नै सौराहा हो । सौराहासँगै चितवनमा पटिहानी, मेघौली र माडी पनि पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेका छन् । निकुञ्ज कार्यालयमा रहेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको असोजमा १६ हजार १७ जना पर्यटकले निकुञ्ज घुमेका छन् । कात्तिक महिनामा त झन् अघिल्लो वर्षकै सबैभन्दा बढी ३२ हजार २५२ पर्यटकले निकुञ्ज घुमेका थिए । आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ३२ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । यीमध्ये ८० प्रतिशतभन्दा बढी सौराहाबाटै प्रवेश गरेका थिए । अहिले पर्यटकको सिजन सुरु हुँदै गर्दा यो क्षेत्रमा परेको असरले यो वर्षको पर्यटन आगमनमै असर गर्नेमा व्यवसायी चिन्तित छन् ।

सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भएको सौराहामा हात्तीमा चढेर बाघ, गैँडा जस्ता जनावर हेर्न पाइन्छ । वन, वन्यजन्तु र वनस्पतिका अलवा यहाँ स्थानीय आदिवासी थारूको जीवन झल्कने सांस्कृतिक कार्यक्रम, सौराहासँगै जोडिएका धार्मिक स्थान पर्यटकका लागि थप आकर्षण हुन् । जङ्गल ड्राइभ, जङ्गल वाक्, डुङ्गा सफारी, हात्ती प्रजनन केन्द्र पनि सौराहा आउने पर्यटकका लागि मनोरञ्जनका थप केन्द्र भएको बताइन्छ ।

– वसन्त पराजुली