९ असोज, काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो ।
दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ । हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए । दशैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।
आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढे । विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटे ।
हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको ५.८५, समता घरेलु लघुवित्तको ४.७४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे ।