काठमाडौँ, ८ असोज : संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले विभिन्न पेसा तथा व्यवसायमा यूएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
पछिल्लो समयमा यूएईमा कार्यरत नेपाली श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न भएको गतिविधि बढेपछि दूतावासले सचेत गराएको हो ।
दूतावासले स्थानीय कानुन उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै सावधान रहन पनि भनिएको छ । यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा बन्द गरेको पृष्ठभूमिमा दूतावासले यस्तो सूचना जारी गरेको हो । यूएईले सेप्टेम्बर ८ यता भिजिट र श्रम भिसा जारी गरेको छैन । भिसा बन्द गर्नुको कारणबारे भने यूएईले औपचारिक जानकारी गराएको छैन ।
दूतावासले विशेष गरी ११ बुँदा पालना गर्न नेपाली श्रमिकलाई अनुरोध गरेको छ । जसमा यूएईको विद्यमान श्रम, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्ने, रोजगारदाता परित्याग गरी भाग्ने कार्य नगर्न, आफूले काम गर्ने कम्पनी वा संस्थासँगको वैधानिक सम्झौता मिच्ने कार्य नगर्न भनिएको छ ।
त्यस्तै ट्राफिक नियमको पूर्ण पालना गर्ने, आवासीय परिचयपत्र सधैं साथमा राख्न, वैधानिक, इमानदारितापूर्ण र अनुशासित व्यवहार गर्न, झुक्याउने, ठगी गर्ने वा करारविपरीत कार्य नगर्न पनि दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
दूतावासले पासपोर्ट, इमिरेट्स कार्ड वा बैंकिङ कागजात अरूलाई नदिने, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत अनुचित पोस्ट नगर्ने, अनधिकृत संस्था वा समूह गठन नगर्ने, दूतावासलाई पूर्वजानकारी दिएर मात्र सांस्कृतिक वा धार्मिक कार्यक्रम गर्ने र आपसी ऐक्यबद्धता, सद्भाव र सहकार्यका आधारमा नेपाली समुदायलाई एकताबद्ध राख्न पनि आग्रह गरेको छ । दूतावासले नियम उल्लंघन गर्ने खण्डमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।
यूएई नेपालीको प्रमुख रोजगार गन्तव्य हो । यूएईमा हाल ८ लाख नेपाली रहेका छन् । गत वर्ष मात्रै २ लाख ६४ हजार नेपाली यूएई गएका थिए ।