09/18/2025, 18:58:11
बिहिबार, असोज ०२, २०८२

नेप्से १६० अंक घटे, ऋणात्मक सर्किट ब्रेकरमार्फत आजको कारोबार रोकियो


काठमाडौं, असोज २ : जेनी-जी आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको बजार (नेप्से)मा १६० अंकको गिरावट आएको छ । नेप्से ६ प्रतिशतले घटेपछि बिहीबारका लागि सेयर कारोबार बन्द गरिएको छ ।

बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द गरिएको थियो । त्यसपछि ११:२२ मा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । त्यसपछि ११:२३ मा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकियो ।

त्यसपछि खुलेको बजार ६ प्रतिशतले घटेपछि १२ः०६ मा तेस्रो सर्किट ब्रेकरमार्फत आजको कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । बजार बन्द हुँदा नेप्से १ सय ६० अंकले घटेर २ हजार ५ सय ११.९१ बिन्दुमा ओर्लिएको छ ।

सेयर बजारमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ सालदेखि सर्किट ब्रेकरको व्यवस्था गरेको छ । २०६४ अघि सेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । हालको व्यवस्थाअनुसार बजार खुलेको पहिलो घन्टामा नेप्से चार प्रतिशतले बढ्दा/घट्दा सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार एक घन्टाभित्र ५ प्रतिशतले बढ्दा/घट्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार एक घण्टामा ६ प्रतिशतले बढ्दा/घट्दा दिनभरकै लागि कारोबार स्थगित गरिन्छ ।

यसकारण एकै दिन नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरूमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकरमार्फत नियन्त्रण गर्दै आएको छ ।