09/17/2025, 11:18:41
बुधबार, असोज ०१, २०८२

कोरला नाकालाई पनि एलसी सुविधा, आयातनिर्यात दुवै सुरु


काठमाडौँ/मुक्तिनाथ, असोज १ : चिनियाँ भूभागबाट आएर मुस्ताङको कोरला भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतीतपत्र (एलसी) खोलिने भएको छ ।

चीनसँगका व्यापारिक नाका रसुवागढी र तातोपानी दुवै बाढीपहिरोका कारण ठप्प भएपछि कोरला नाका सञ्चालनमा ल्याउन एलसीको सुविधा विस्तार गरिएको हो । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि एलसीको सुविधा दिने जनाएको छ ।

यसअघि चिनियाँ भूभागबाट आउने वस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवाबाट जाँचपास हुने भएमा मात्रै एलसीको सुविधा दिने व्यवस्था थियो । अहिले राष्ट्र बैङ्कले मुस्ताङ भन्सारका लागि पनि यो सुविधा दिने व्यवस्था गरेको हो ।

गत असार २३ गते रसुवामा आएको बाढीले रसुवा भन्सार क्षतिग्रस्त बनाएको छ । चीनतर्फको व्यापारमा सोही भन्सार कार्यालय बढी प्रयोग हुने गरेको थियो । रसुवागढी बन्द भएपछि विकल्पका रूपमा हेरिएको तातोपानी नाका पनि साउनको अन्त्यतिर बाढीपहिरोले सडक क्षतिग्रस्त हुँदा सो नाकाबाट पनि आयातनिर्यात व्यापार ठप्प छ ।

उपल्लो मुस्ताङवासीले घरायसी र व्यावसायिक प्रयोजनका लागि मात्र सामान ल्याउने कोरला नाकामा अहिले व्यापारीको भिडभाड छ । दैनिक जसो चीनको (नेचुङ–लिजी) बजारबाट धमाधम विद्युतीय गाडी र लत्ताकपडासहित तयारी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् । हालसम्म १५१ विद्युतीय गाडी र ६५ वटा कन्टेनर आएको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।

प्रमुख खड्काले भन्नुभयो, “भन्सार कार्यालय सहज हुँदा नेपाली वस्तु पनि तिब्बततर्फ निर्यात हुने रहेछ, उताबाट दैनिक जसो ठुला कन्टेनर भित्रिएका छन् ।” उहाँका अनुसार नेपालबाट मुढा, मूर्ति, नेपाली ब्रान्डका ज्याकेटसहित घरायसी साम्रगी दुई ट्र«क निर्यात भएको छ । नेचुङबाट आएको चप्पल, लत्ताकपडासहितको दुई गाडी भन्सारबाट चेकजाँच गरिएको छ ।

कोरला नाका १४ किलोमिटर दुरीमा रहेको भन्सार कार्यालयको बाहिरी क्षेत्रमा सवारीसाधनसहितका सामानले भरिएको छ । विद्युतीय गाडी दसैँअगाडि करिब पाँच सय भित्रिने जानकारी आएको भन्सार कार्यालयले जनाएको छ । यो सिजनमा उक्त नाकाबाट चिनियाँ भेडाच्याङ्ग्रा समेत भित्रिन्छन् ।

नेपाली व्यापारीले कन्टेनर चीनको सिगात्से प्रान्तको झोम्वासेन हुँदै नेचुङ–लिजी भन्सार कार्यालयमा ल्याउन थालेपछि उपल्लो मुस्ताङवासीसमेत उत्साहित भएका छन् ।

ल्होमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले भन्सार कार्यालयलाई चुस्त र सशक्त बनाउन सके व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “अब वैकल्पिक होइन नियमित सञ्चालन हुनु पर्छ, कोरलालाई चिनियाँले नियमित सञ्चालनमा चासो देखाएका छन् । अब अपुरो पूर्वाधार र जनशक्तिलाई प्राथमिकता दिनु पर्छ ।

२०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन गरी खुला गरिएका नाकाबाट हुने व्यापार मुस्ताङमा मात्रै सीमित थियो । गत आर्थिक वर्ष २०८१/८२ मा चार हजारभन्दा बढी मुस्ताङीले सामान ढुवानी गर्न प्रवेश पास लिएका थिए ।

समुद्री सतहदेखि चार हजार ६५० मिटरको उचाइमा अवस्थित कोरला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि बन्द थियो ।

अहिले नाकालाई सहज बनाउन विद्युतीय चार्जिङ स्टेसन, ठुला कन्टेरनबाट ढुवानी गर्न मिल्ने गरी गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकलाई सहज बनाउन आवश्यक रहेको व्यवसायीको भनाइ छ ।