काठमाडौँ, भदौ ३० : अन्तरिम सरकारका तीन नयाँ मन्त्रीको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोमबार बिहान ११ः३० मा राष्ट्रपति कार्यालयमा उहाँहरुको शपथ हुने राष्ट्रपति रामचन्द्र पौडेललको सचिवालयले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित देशभरि गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शन भएको थियो । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।