09/14/2025, 12:53:32
आइतबार, भदौ २९, २०८२

बिर्सने रोग अल्जाइमर्स : कारण, लक्षण र उपचार तथा रोकथाम


काठमाडौँ, भदौ २९ : स्नायुको क्षयीकरणका कारण बुढ्यौलीमा देखापर्ने रोग हो अल्जाइमर्स । सन् १९०६ मा यो रोग पत्ता लगाउने जर्मनीका मनोचिकित्सक तथा प्याथोलोजिस्ट एलोइस अल्जाइमर्सकै नामबाट यस रोगको नामकरण गरियो ।

अल्जाइमर्स रोग नै डिमेन्सियाको चल्तापुर्जा (६०–७० प्रतिशत) कारण मानिन्छ । अर्थात् डिमेन्सिया भएका करिब ७० प्रतिशत बिरामीमा अल्जाइमर्स पनि हुने भएकाले डिमेन्सिया र अल्जाइमर्स खुट्याउन गाह्रो हुन्छ । डिमेन्सिया भएकामा मस्तिष्कका कोषिका विस्तारै खिइएर स्मरण शक्तिमा कमी आउने समस्या हुन्छ ।

सन् २०२० को तथ्याङ्क अनुसार विश्वमा करिब पाँच करोड मानिस अल्जाइमर्सबाट ग्रसित थिए तर नेपालमा अल्जाइमर्स रोगका बिरामी कति छन् भन्ने कुनै तथ्याङ्क छैन । यो रोग प्रायः ६५ वर्ष उमेरमाथिका मानिसलाई लाग्ने गरेको भए पनि १० प्रतिशत बिरामी ३० देखि ६० को उमेर समूहका पनि छन् ।

महिलाहरू यस रोगले तुलनात्मक रूपमा बढ्ता प्रभावित हुने गर्छन् । विश्वमा मानिसको मृत्यु हुनाको कारणमध्ये अल्जाइमर्स रोग सातौँ नम्बरमा पर्दछ । विकसित देशमा यो समस्या कत्तिको विकराल छ भने यस रोगको निदान, उपचार एवं रोकथामसँग सम्बन्धित अनुसन्धानका लागि अर्बौं डलर रकम खर्चिने गरेको छ । यस रोगबारे जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २१ मा विश्व अल्जाइमर्स दिवस मनाइने गरेको छ ।

कारण

अल्जाइमर्स किन हुन्छ ठ्याक्कै कारण पत्ता लागिसकेको छैन । तैपनि अनुसन्धानले के देखाएको छ भने मस्तिष्क (विशेषतः हिप्पोक्याम्पस क्षेत्र) मा बेढङ्गका प्रोटिन जम्मा हुन गई मस्तिष्क कोषका सामान्य काम गराइमा बाधा पुग्न जान्छ । समयक्रममा त्यहाँका स्नायुमा अपूरणीय क्षति भएर मस्तिष्क र अन्य महत्वपूर्ण स्नायु प्रणालीबीचको सम्बन्ध नै टुट्ने गर्छ । बुढ्यौलीमा बढ्दो उमेरसँगै मानिसको मस्तिष्क विस्तारै खिइँदै जान्छ । व्यक्तिविशेष अनुसार यो प्रक्रिया कसैमा छिटो हुन्छ भने कसैमा ढिलो हुन्छ ।

अधिकतर बुढ्यौली लागेका मानिसमा वंशाणुगत कारणले अल्जाइमर्स हुने गर्छ । त्यसबाहेक उच्च रक्तचाप भएका, अवसाद (डिप्रेसन) भएका, टाउकामा चोटपटक लागेका, मानसिक तनाव, भौतिक तथा मानसिक अभ्यासको कमी, मोटोपना भएकामा पनि अल्जाइमर्स रोग लाग्ने गरेको देखिन्छ ।

लक्षण

यस रोगबाट प्रभावितमा बिर्सने समस्या हुन्छ । तिनले हालैको (४८ घण्टाभित्रको) घटनाक्रम वा कामसमेत बिर्सने गर्छन् । समस्या बढ्दै गएसँगै बोलीचालीमा समस्या आउने, सोच्ने क्षमतामा कमी आउने, निल्नमा कठिनाइ हुने, व्यवहारमा परिवर्तन आउने, रनभुल्लमा पर्ने, मुड परिवर्तन भइरहने, उदासीपना बढ्ने, कति पनि उत्प्रेरणा नआउने, आफ्नै हेरचाह गर्न नसक्ने र मानिस चिन्न छाड्ने हुन्छ ।

यस्ता यावत् लक्षणका कारण विस्तारै परिवार र समुदायबाट पीडित टाढिँदै जान्छ । विस्तारै शारीरिक अङ्गले काम गर्न छोड्दै जाँदा उसको मृत्यु हुन्छ । अल्जाइमर्सले गाँजेको तीनदेखि १२ वर्षमा मृत्यु हुने देखिएको छ । किनकि पीडितमा सङ्क्रमण रोग, अन्य रोगव्याधि, चोटपटक तथा सर्केर छातीको निमोनिया हुने जोखिम बढी हुन्छ ।

अल्जाइमर्स रोगलाई तीन चरणमा बाँडिएको छ । सुरुवाती चरणमा रोगीको नातेदार एवं साथीलाई यो समस्या महसुस हुन थाल्छ तर पनि प्रभावित व्यक्तिले आफ्नो दैनिक काम जारी नै राख्न सक्छ । पीडितमा कुनै कुरा झट्ट सम्झिन गाह्रो हुन्छ । यस क्रममा आफूले जानेको शब्द, आफूले प्रयोग गर्ने गरेको वस्तु राखेको ठाउँ बिर्सने, नाम सम्झिन गाह्रो हुने, पढेको कुरा बिर्सने, कुनै योजना बनाउन गाह्रो हुने हुन्छ ।

मध्यम चरण अलि लामो समयसम्म रहिरहन सक्छ । रोगमा जटिलता बढेसँगै प्रभावित व्यक्तिलाई उति नै धेरै हेरचाहको आवश्यकता पर्न सक्छ किनभने यस चरणमा पुगेको अल्जाइमर्सको रोगी प्रत्येक कुरामा द्विविधामा पर्ने र भिन्न व्यवहार गर्न थाल्छ । साथै यस चरणका बिरामीले आफ्नो विगतलाई बिर्सन थाल्ने, मनको अवस्था एवं व्यवहार तलमाथि हुन थाल्ने, घर, गाउँको ठेगाना पनि बिर्सने, मौसम तथा विशेष अवस्था अनुसार लुगा लगाउन नसक्ने, दिसापिसाब रोक्न गाह्रो हुने, दिनमा सुत्ने ताथ राति उसमा अनिँदो र बेचैन हुने समस्या देखिन्छ ।

अन्तिम चरणमा प्रभावित व्यक्तिले वरिपरिकै वातावरणप्रति प्रतिक्रिया जनाउन, वरिपरि रहेका मानिससित बोलचाल गर्न तथा आफ्नो गतिविधिलाई नियन्त्रण गर्न नसक्ने हुन्छ । प्रभावित व्यक्तिको स्मरणशक्तिको क्षयीकरणसँगै तिनको व्यवहारमा पनि परिवर्तन देखिँदै जान्छ । त्यसैले पनि हरेक क्षण तिनको हेरचाह गर्नुपर्ने, वरिपरिको वातावरणबारे लगातार स्मरण गराइरहनुपर्ने, खान, निल्न तथा बोल्न सिकाइरहनुपर्ने हुन्छ ।

सिटी स्क्यान, एमआरआईलगायतका परीक्षण अल्जाइमर्सका लागि नभए पनि मस्तिष्क वा अन्य स्नायुसम्बन्धी समस्या छुट्याउन यी सहयोगी हुन सक्छन् । व्यक्तिविशेषको तीक्षणता एवं मानसिक स्थिति, स्मरण शक्ति परीक्षणका लागि विभिन्न खालका डायग्नोस्टिक टेस्ट पनि गरिन्छ ।

उपचार तथा रोकथाम

अल्जाइमर्स रोगलाई पूर्णतया निको पार्न सकिँदैन । औषधि उपचारबाट यस रोगका लक्षणलाई केही हदसम्म कम गर्न सकिए पनि रोकथामको उपाय छैनभन्दा हुन्छ । उमेर अनुसार मस्तिष्क खिइएर वा सुकेर यो रोग निम्तिने भएकाले अल्जाइमर्स रोगबाट बच्ने निश्चित उपाय हालसम्म पत्ता लगाउन सकिएको छैन तर कतिपय औषधि तथा उपचार प्रक्रियाले यसका लक्षण कम गर्न मद्दत पुग्छ ।

स्वस्थ एवं पोषिलो खाना, शारीरिक क्रियाकलाप एवं सामाजिक व्यस्तता बढ्दो उमेरमा अल्जाइमर्सको समस्या घटाउन श्रेयस्कर मानिएको छ । प्रभावित व्यक्ति विस्तारै परिवारजनमा निर्भर हुँदै जाने हुन्छ । यसको कारण उत्पन्न सामाजिक, संवेगात्मक, भौतिक एवं आर्थिक चाप बढ्न जान्छ ।

वैज्ञानिकहरू अल्जाइमर्स रोगको सटिक उपचार गर्न निरन्तर अनुसन्धानमा जुटेका छन् । हामीले अहिलेको अवस्थामा मुटु रोगको जोखिम घटाउने, कोलेस्टेरोल नियन्त्रण, मोटोपना, उच्च रक्तचाप एवं मधुमेहलाई नियन्त्रण गरेर अल्जाइमर्सको खतरा कम गर्न सक्छौँ । त्यसबाहेक युवा अवस्थाबाटै नियमित अभ्यास गरेर शारीरिक तौल नियन्त्रणमा राखेमा अल्जाइमर्सको जोखिम कम गर्न सकिन्छ ।

– प्रा.डा. सुमनराज ताम्राकार