काठमाडौं, भदौ २४ : पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।
नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् ।
‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको समेत बताएका छन् ।