10/26/2025, 10:47:27
आइतबार, कार्तिक १०, २०८२

गुगल ट्रेन्ड्समा ‘जेन-जी प्रोटेस्ट’ को खोजी


काठमाडौँ, भदौ २४ : राजनीति र कर्मचारीतन्त्रमा नातावादविरुद्ध जेन-जी सोमबार काठमाडौंसहित देशका मुख्य सडकमा पुगेका छन् । रेडिट, इस्टाग्राम, डिस्कर्ड, टेलिग्राम, टिकटक हुँदै जेन–जीको डिजिटल आन्दोलन सडकमा पुगेको हो । जेन–जीको आन्दोलनका विषयमा पछिल्लो ४ घण्टामा गुगल ट्रेन्ड्समा देखिएका गतिविधिहरूले यो आन्दोलनको प्रभाव व्यापक छ भन्ने स्पष्ट पार्छ ।

गुगल ट्रेन्ड्समा देखिएको डेटाअनुसार ‘जेन जी’ सम्बन्धी असाध्यै खोजी भएका छन् । कतिले त जेन जी भनेको के हो भन्नेबारे खोजेका छन् भने कसैले ‘जेन जी प्रोटेस्ट’, ‘नेपाल प्रोटेस्ट लाइभ’, ‘नेपाल प्रोटेस्ट न्युज’ जस्ता विषयमा खोजेका छन् । नेपालमा यी शब्दहरूको खोज ४० देखि ६०० प्रतिशतभन्दा बढीले वृद्धि देखिएको छ । मध्य नेपालमा यस्तो खोजी धेरै देखिएको छ । पश्चिममा ४४, पूर्वमा ४०, मध्यम पश्चिममा ३७ र सुदुर पश्चिम क्षेत्रमा २८ प्रतिशतले यी विषयमा गुगल खोजी भएको छ ।

त्यस्तै, आन्दोलनसँग सम्बन्धित विषयहरूमा पनि गुगल सर्च बढ्दो क्रममा छ । ‘नेपाल लाइभ’ र ‘स्ट्रिमिङ मिडिया’ जस्ता शब्दहरूको खोजले प्रयोगकर्ताहरूले आन्दोलनका घटनाहरू प्रत्यक्ष प्रसारण वा अनलाइन माध्यमबाट हेर्न चाहेको संकेत गर्छ ।

यस आन्दोलनले डिजिटल र सडक दुवै माध्यमबाट सरकारमाथि दबाब बढाएको छ । सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरू वास्तविक प्रदर्शनको रूप लिएका छन् र यसले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याएको छ । काठमाडौँमा सुरुमा शान्तिपूर्ण रहेको आन्दोलनमा पछि तोडफोड र झणप पनि देखिएको छ ।

एक्समा नेपोकिड, सोसल मिडिया ब्यान नेपाल जस्ता ह्यासट्याग ट्रेन्डिङमा छन् । सर्ट भिडियो, फोटो, प्रदर्शनी गरिने स्थलको रुट, ऐक्यबद्बताका विषय पोस्ट भएका छन् । इस्टाग्राम र फेसबुकमा माइतीघर, विराटनगर, चितवन, पोखरा, रुपन्देहीबाट रिल र स्टोरी पोस्ट भएका छन् ।