09/05/2025, 19:40:22
शुक्रबार, भदौ २०, २०८२

देश र जनताको हितमा काम गर्न छाड्दैनौं : प्रधानमन्त्री ओली


ललितपुर, भदौ २० : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ । एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा देखिने र सुनिने गरी हामीले भूमिका खेल्नुपर्छ, हामी सफल हुनेछौं । कसैलाई मन पर्ने नपर्ने विषयभन्दा हाम्रो यथार्थमा हामी लाग्नुपर्छ, लाग्छौं” उहाँले भन्नुभयो, “आफूलाई जान्नेसुन्ने भन्ने तर देश र जनताको पक्षमा चुइँक्क नबोल्नेहरुसँग हामी सजग रहनुपर्छ । राष्ट्रिय हितको पक्षमा भूमिका खेल्न हामी छाड्दैनौं ।

विगतको राम्रो पक्षको संरक्षण गर्ने र बाँकी राम्रा काम गर्नमा सरकार सक्रिय रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीलाई एकताबद्ध भएर देश र जनताको पक्षमा काम गर्न म आह्वान गर्दछु । आउने २०८४ मा हुने निर्वाचनमा एमालेलाई बहुमतसहितको ठुलो पार्टी बनाउनुपर्छ । जनताले त्यसमा सहयोग गर्नुहुनेछ ।

हामीले राष्ट्रको पक्षमा बोल्दा र काम गर्दा विरोधीहरुको छात्ती भटभट पोल्दो रै’छ, अनि घटघट पानी खान थाल्छन्, उहाँहरुलाई जति छटपटी भए पनि हामी देश र जनताको पक्षमा काम गर्न छाड्दैनौं” उहाँले थप्नुभयो, “अहिलेको सरकार बिल्कुल सजग छ । देशको पक्षमा हामीले काम गर्दैछौं, विपक्षमा काम गर्दैनौं । हाम्रो अभियानमा जनताको साथ छ ।

देश र विदेशले सुन्नेगरी भन्छु देशको विरुद्ध हामी काम गर्दैनौं । मानवताको समग्र हितको विरुद्ध कुनै क्रियाकलाप गर्नेछैनौं । हामीले नेतृत्व गरेको यो सरकारले त्यस्तो चिन्तन पनि गर्दैन” उहाँले थप्नुभयो, “देशको समृद्धि र लोकतन्त्रको सुदृढीकरण गर्नमा हाम्रो ध्यान छ । यो अभियानमा जनताको साथ समर्थन रहेकाले विरोधी शक्तिले जे सोचे पनि हामी रोकिदैनौं ।

मुलुकबाट गरिबी उन्मूलनमा सरकारको ध्यान रहेको बताउँदै उहाँले देशबाट गरिबी अन्त्य नहुँदासम्म वास्तविक विकास र समृद्धि अन्त्य भएको मान्न नसकिने उहाँले चर्चा गर्नुभयो । जनता खुशी भएमात्र देशको सार्थक विकास भएको मानिने चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतालाई गरिब राखेर गरिएको अन्य समृद्धिको अर्थ रहँदैन । हामी त्यसमा सजग छौं ।

आजदेखि सुरु भएको विधान महाधिवेशन २२ गते सम्पन्न गर्नैपर्ने अध्यक्ष ओलीले बताउनुभयो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गर्नुहुने विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पाखरेलले राख्नुहुने सङ्गठनात्मक प्रतिवेदन र अन्य प्रस्तावमा समूहगत छलफल गरी अघि बढ्न उहाँले निर्देशन गर्नुभयो । तीन दिनको समय छलफलको लागि पर्याप्त समय भएको उहाँले बताउनुभयो ।