09/03/2025, 12:48:02
बुधबार, भदौ १८, २०८२

ज्यानको बाजी लगाएर खोज र उद्धार गर्ने नायक ‘गोताखोर’

हराएका व्यक्तिको लास भए पनि खोजेर आफन्तलाई बुझाउन पाउँदा आफ्नो कामप्रति गर्व लाग्छ ।


धनगढी, भदौ १८ : कैलालीको गोदावरी नगरपालिका–९, भल्कास्थित खुटिया नदीमा बिहीबार एकै घरका दुई दाजुभाइसहित चार किशोर डुबेर बेपत्ता हुनुभयो । घटना भएको आसपास अन्यत्र गहिराइ नरहेको सो नदीमा करिब २० मिटर भाग मात्रै गहिरो छ । त्यसमा किशोरहरू डुबेपछि दगुरेर उद्धारका लागि पुगेका सर्वसाधारणले गहिरोमा गएर खोज्न आँट गर्नै सकेनन् ।

स्थानीयका अनुसार घटना भएको ठाउँमा एक्कासि गहिरो छ, करिब २० फिट । जहाँ एक सिङ्गो बाँस डुब्छ । जसका कारण पौडीबाज स्थानीयसमेत गहिरोमा जान डराए । नदीको गहिराइमा नदी किनारकै पौडीबाज स्थानीय, माछा मार्ने मछुवारसमेत जान डराएपछि डुबेका किशोर खोज्ने र शव निकाल्ने काम सशस्त्र प्रहरी बलको गोताखोर टिमले ग¥यो ।

सशस्त्रको यो टिमले आफ्नो ज्यानको बाजी लगाएर नदीमा डुबेकाको खोज, उद्धार गर्दै आएको छ । चितवनको कुरिनटारमा तालिमपश्चात् आफ्नो टिमले यो प्रदेशमा खोज, उद्धारको काम गरिरहेको गोताखोर जवान योगेन्द्र कार्कीले बताउनुभयो । उहाँले सेती, कर्णाली, महाकाली नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको खोजीकार्य गरिसकेको उल्लेख गर्नुभयो । “यसअघि पनि हामीले खोजेर पाँच/छ वटा शव निकालिसकेका छौँ,” कार्कीले भन्नुभयो, “हराएका व्यक्तिको लास भए पनि खोजेर आफन्तलाई बुझाउन पाउँदा आफ्नो कामप्रति गर्व लाग्छ ।

पानीभित्र पसेर कसैले खोजी गर्न नसकेको अवस्थामा सबैको अन्तिम आशा, भरोसा गोताखोर टिम बन्ने गरेको छ तर अक्सिजन सिलिन्डर पिठिउँमा बोकेर पानीमा डुबुल्की लगाउने गोताखोरलाई यो काम गर्न सजिलो भने पटक्कै छैन । डुब्ने बेलामै गाह्रो हुने गरेको जनाउँदै जवान कार्कीले चुनौतीलाई पन्छाएर काम गर्ने गरेको अनुभव सुनाउनुभयो ।

कठिनाइ नहुने त कुरै भएन । पानीमा डुबेपछि गाह्रो भइहाल्छ,” उहाँले भन्नुभयो, “तर यो गर्दै आएको काम हो । हाम्रो दायित्व हो । गाह्रोको सामना गर्न नै गोताखोर तालिम लिएका हौँ ।

वडाध्यक्ष रामलाल रानाका अनुसार किशोरहरू डुबेको ठाउँमा सामान्य मान्छेले डुबेर बालुवासमेत छुन सक्दैनन् । “हाम्रो गाउँका पौडीबाजलेसमेत भित्र जमिन छुन सकेनन्,” उहाँले भन्नुभयो, “तपाइ, हामी जस्ता सामान्य मान्छेका लागि त्यो ठाउँ खतरनाक छ ।

त्यस स्थानमा डुबेर धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका जुम्ल्याहा दाजुभाइ १७ वर्षीय जेफ भण्डारी, याबेस भण्डारी, धनगढी उपमहानगरपालिका–५, तारानगरका १७ वर्षीय सक्षम जोशी र जाइका १५ वर्षीय प्रतीक चौधरीको ज्यान गएको थियो । डुबेका किशोरको खोजी गरेर कार्कीसहितका सशस्त्र प्रहरीको गोताखोर टिमले शव निकालेको थियो ।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी वीरेन्द्रबहादुर ऐरले सुदूरपश्चिमाञ्चल प्रदेशमा सशस्त्र प्रहरीका १२ जना गोताखोर कार्यरत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गोताखोरसहित विपत् व्यवस्थापनसम्बन्धी तालिम लिएर २७२ जनाले यस प्रदेशमा काम गरिरहेका छन् । यस वर्ष असारदेखि भदौ १३ गतेसम्म डुबानमा परेका, खोलाले बगाएका, पहिरोमा प्रभावितलगायत गरी ५१ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको जनाइएको छ ।