काठमाडौँ, भदौ १७ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विधान महाधिवेशनपछि पार्टी थप व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित हुने पार्टी एमाले भएको दाबी गर्नुभयो ।
उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो वडामा समेत जिताउन सक्ने तागत नराख्ने टिप्पणी गर्नुभयो । पार्टीका धेरै नेता कार्यकर्ता धागो चुँडिएको चङ्गा जस्तो भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सबै माथि माथि मात्रै, तल जनाधार छैन । गएको निर्वाचनमा हामीले एउटा नारा दिएका थियौँ, ‘मै जिताउँछु मेरो वडा’ भन्ने, हाम्रो ८० प्रतिशतभन्दा धेरै वडामा बलियो जनाधार छ । कति जिल्लाका नेता हौँला जसले आफ्नो वडासम्म पनि जिताउन सक्दैनौँ । कुराचाहिँ ठुलठुला गर्छौं । जनतासँग जोडिने कुरा महत्वपूर्ण हुन्छ ।”
फरक मत राखिने
यसैबिच एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धमा पार्टीले लिएको निर्णयबारे आउँदो विधान महाधिवेशनमा पनि आफ्नो फरक मत रहने उल्लेख गर्नुभएको छ । काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरसंवादका क्रममा उहाँले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणका विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । “पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरू नेताले फरक मत राख्नुभयो । त्यसलाई तत्कालै भिन्न मतका रूपमा माइन्युट लेखन टोलीलाई दियौँ । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र मैले संयुक्त रूपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौँ,” पाण्डेले भन्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












