08/24/2025, 17:19:23

कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू भए एकजुट


कञ्चनपुर, भदौ ८ : कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् ।

रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आउनुभएका देवताका धामी मानिने वेदकोट नगरपालिका–१० चतहरीका अन्दाजी ५५ वर्षीय कलासा चुनाराले छाउगोठ भत्काउँदै वास्तवमै यो कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो । वर्षाैँदेखि छाउगोठमा बस्दै आएका उहाँले रजस्वलाका बेला घरमै बस्ने प्रतिबद्धता जनाउनुभयो ।

रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ’’, उहाँले भन्नुभयो, ‘‘यो त महिलाहरूमा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउन सहयोग गरेकी हुँ ।

गत बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले वर्षौँदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताउनुभयो । “यस पटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिदा चेत खुलेको छ, अब म सहित छोरी, बुहारी कसैलाई पनि छाउगोठमा बस्न पठाउँदिन ।” उहाँले भन्नुभयो ।

शुक्रबार वेदकोट नगरपालिका–१० स्थित दुर्गम बस्ती चतहरीमा वडा कार्यालयको आयोजना र स्वीट नेपालको सहकार्यमा छाउगोठसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीहरूले छाउगोठलाई मनैबाट हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिलाहरू छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताउनुभयो ।

महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिलाहरू अब भने छाउगोठ भत्काउन अग्रसर हुनुभएको पालिकाका उपप्रमुख जोशीले बताउनुभयो । छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उहाँले बताउनुभयो ।

वडा नम्बर १० का अध्यक्ष रतन सिंह विष्टले दलित, जनजातिको बसोबास रहेको यस दुर्गम बस्ती चतहरीमा छाउगोठसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सदरमुकामभन्दा टाढा शुक्लाफाँटा निकुञ्ज क्षेत्रसँग जोडिएको यस बस्तीका महिलाहरू छुट्टै छाउगोठमा बस्दै आउनुभएको थियो । तर अहिले जनचेतना सँगै छाउगोठसम्बन्धी अन्तरक्रिया गरिँदा महिलाहरूले छाउगोठमा नबस्ने प्रतिबद्धता जनाउँदा दुर्गमबाटै छाउगोठको निवारण जरुरी देखिएको अध्यक्ष विष्टले बताउनुभयो ।

स्थानीय सरकार, प्रहरी प्रशासनको उपस्थितिमा स्थानीयहरूले छाउगोठ भत्काएपछि शुक्रबार उनीहरूकै घरआगनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले छाउगोठ जन्य कुप्रथाहरूलाई सबैले हटाउनुपर्ने बताउनुभयो । छाउगोठमा बस्नु कानुन सम्बद्ध तरिकाले पनि अनुचित रहेको उहाँले बताउनुभयो । यदि कसैले रजस्वलाको बेला छुट्टै छाउगोठमा बसेको पाइए, रजस्वलाका बेला अमानवीय व्यवहार गरेको पाइए तीन महिना कैद सजायसम्म हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोलनुहुँदै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम क्षेत्रमा देखिएको छाउपडी जन्य कुप्रथाको निवारण गरिनु जरुरी रहेको बताउनुभयो । मानिस सबल र सक्षम हुँदै गए यी कुप्रथाहरूलाई नअँगाल्ने उहाँले बताउनुभयो । छाउगोठ बसे वा यसलाई माने कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

छाउगोठ भत्काउनेलाई खाट उपलब्ध गराइने छाउगोठ भत्काएका परिवारलाई वेदकोट नगरपालिकाले खाट उपलब्ध गराउने भएको छ । वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाउगोठ भत्काएर कुप्रथा हटाउन अग्रसर भएका महिलाहरुलाई खाट उपलब्ध गराइने बताउनुभयो । छाउगोठ सामाजिक कुप्रथा भएको र यसले महिलाहरूलाई झन् पीडामा पार्ने काम गरेको नगर प्रमुख बोहराले बताउनुभयो । वडा नम्बर १० मा २४ परिवारले छाउगोठ भत्काएर महिनावारी भएका बेला सुत्नलाई समस्या हुने बताएपछि नगरप्रमुख बोहराले खाट उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको हो ।

गत असार २८ गते छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको पर्सले डसेर ज्यान गएपछि जिल्लाका सबै अन्य पालिकामा पनि छाउगोठ भत्काउन थालिएको हो । वेदकोट नगरपालिकामा अभियान नै चलाएर छाउगोठ भत्काइँदै आएको छ ।

– भवानीदत्त भट्ट