बुधबार, पुष १०, २०८१

प्रधानमन्त्रीको स्वीकारोक्ति : सरकारको पूर्वतयारीभन्दा ठुलो विपद् आएकाले कमजोरी देखियो

केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुनसक्छ


१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् । असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी-पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।

हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन, यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ उनले भने । भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।

बाढी-पहिरो आएको बेला प्रधानमन्त्री ओली अमेरिकामा थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका ओली सोमबार मात्र स्वदेश फर्किएका हुन् । आफू (देश) बाहिर भएपनि यहाँको अवस्थाबारे जानकार रहेको भन्दै ओलीले भने, ‘मलाई पनि यसप्रकारको होला भन्ने अनुमान थिएन ।

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो काम गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुनसक्छ’, सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुनसक्ने भन्दै उनले भने, ‘जानी-जानी लापरबाही त कसरी भयो होला र !

४ हजार बढी मानिसको उद्दार गरेको भन्दै उनले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुपर्ने बताए । साथै अहिले कमी कमजोर देखाउनेभन्दा राहत तथा पुनर्निर्माणमा जुट्ने बेला भएको प्रधानमन्त्री ओलीले बताए । ‘यो बेला भनेको जनताले भोगिरहेको पीडामा उद्धार, राहत सहयोग र पुनर्निर्माणका कामहरु गर्ने हो, यो साझा राष्ट्रिय पीडा हो । एक भएर साझा विपत्तिको सामना गर्नुपर्छ ।’ उनले भने ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढी-पहिरोमा परेर २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् । खानेपानी, सडक, ऊर्जा तथा सिँचाई र पशुपक्षी गरेर १७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । साथै कृषि बाली भएको क्षतिबारे एक महिनाभित्र लगत निकाल्ने मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए । साथै अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको समेत उनले बताए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading