काठमाडौँ, भदौ ४ : सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुङ्गा’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमा रिलिज हुनुभन्दा ९ दिनअघि सार्वजनिक ३ मिनेट ३० सकेण्ड लामो ट्रेलरले पारिवारिक सम्बन्धको कथामा निर्माण भएको प्रष्ट पार्छ ।
अभिनेत्री सुरक्षा पन्तलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको अभिनय सशक्त देखिन्छ । चुलबुले स्वभावकी सुरक्षाले आफूले मन पराएको युवकसँग विवाह गरेपछि उनको जीवनमा आएका उतारचढाव र निराशाजनक परिस्थितिलाई मर्मस्पर्शी ढंगले प्रस्तुत ट्रेलरमा आर्थिक अभाव, पारिवारिक कलह, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्नेलाई समाजले गर्ने व्यवहारलाई पनि देखाइएको छ । ट्रेलरमा भावनात्मक पक्ष बलियो देखिन्छ ।
आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा सुरक्षासहित आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, स्नेहा जोशी, सविता रेग्मी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् ।
नरदेवी फिल्मस् र सारंगी फिल्मस्ले निर्माणमा सहकार्य गरेको ‘कोशेढुंगा’को निर्माता प्रेविल कँडेल र किशोर अनुराग तथा कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । सेभेन सिज इन्टरनेशनलले विदेश वितरणको जिम्मा लिएको यो सिनेमा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ ।