वासिङ्टन, भदौ २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताउनुभएको छ । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताउनुभएको हो ।
ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुनः जोड दिनुभयो । उहाँले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभयो, “क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् ।”
“शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन”, जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्र गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भन्नुभयो, “अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।” उहाँले अमेरिकाप्रति र साझेदारप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गर्नुभयो ।
ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सिधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भन्नुभएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भन्नुभयो, “राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गर्नुभयो । दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ ।”
रुबियोले रुसका माग स्वीकार्य नभएको स्पष्ट गर्दै भन्नुभयो, “हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् ।” फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेता पनि वासिङ्टन बैठकमा सहभागी हुने छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट पनि उपस्थित हुनुहुने छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युक्रेनको चासो र युरोपको सुरक्षालाई संरक्षण गर्ने स्थायी शान्ति’ को आवश्यकता औँल्याउनुभयो । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि छिटो शान्ति सम्झौतामा चासो व्यक्त गर्नुभएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले जेलेन्स्कीको ‘न्यायपूर्ण र स्थायी शान्तिको चाहना’ को प्रशंसा गर्दै बैठकमा सहभागी हुने बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















