वालिङ (स्याङजा) भदौ २ : युवालाई रोजगारी र सिपसँग जोड्न गण्डकी प्रदेशका १० स्थानमा ‘करियर बुथ’ को स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रमअन्तर्गत गण्डकीका १० स्थानमा बुथको स्थापना गरिएको हो ।
युवालाई रोजगारी, सिप तथा उनीहरुको सुनौलो भविष्यसँग प्रत्यक्ष जोड्न करियर बुथको स्थापना गरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसको मुख्य लक्ष्य बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु तथा कामदारलाई उनीहरूको सिप र रूचिअनुसार मार्गदर्शन गर्नु हो ।”
आइल्याव गण्डकीका सदस्य शरद कोइरालाका अनुसार पाँच प्रकारका व्यक्तिहरूलाई सेवा दिने गरी करियर बुथ को सञ्चालन गरिएको हो । रुचि र क्षमताबारे स्पष्टता नभएकाहरू, काममा संलग्न तर अपुरा दक्षता वालाहरू,अनौपचारिक रूपमा दक्षता हासिल गरेका व्यक्तिहरू, अनुभवी व्यक्तिहरू र पेशागत रूपमा स्थापित व्यक्तिहरू यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने उहाँको भनाइ छ ।

रोजगारी र सिपलाई जोड दिँदै पहिलो चरणमा प्रदेशका १० स्थानमा करियर बुथ सञ्चालन गर्ने सम्झौतामा आइतबार पोखरामा हस्ताक्षर गरिएको हो ।
प्रदेशका रोजगार सूचना केन्द्र (सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय) पोखरा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश,गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका,माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षाल, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युटमा करियर बुथको स्थापनाका लागि हस्ताक्षर गरिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















