08/15/2025, 10:01:08

ट्रम्प र पुटिनबिच शिखर वार्ता आज


काठमाडौँ, साउन ३० : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार हुँदै छ । अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो । रुस र युक्रेनबिच सन् २०२२ को फेबु्रअरी २४ देखि युद्ध जारी छ । यस युद्धले दुवैतर्फका हजारौँ सैनिक र गैरसैनिकको ज्यान लिएको छ । अलास्का शिखर वार्तामा युद्धरत युक्रेन भने सहभागी हुने छैन ।

युक्रेनको प्रत्यक्ष सहभागिता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्धविरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र सर्तहरू प्रस्तुत गरेका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पलाई पुटिनसँग युक्रेनमा युद्धविरामबारे वार्ताका लागि आफ्ना पाँच वटा सिद्धान्त र सर्त राखेका छन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार ती पाँचै सिद्धान्त वा सर्तमा ट्रम्प सहमत हुनुभएको छ ।

अगाडि सारिएका सर्तहरूमा जमिन अदलीबदली गर्ने सन्दर्भमा त्रिपक्षीय वार्ता हुनुपर्ने, युक्रेनको सुरक्षा ग्यारेन्टी हुनुपर्ने, नेटोमा संलग्नताबारे रुसले निर्णय गर्न नमिल्ने, युद्धविराम नभए रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने र ट्रम्प–पुटिनबिचको वार्ता तत्काल युद्धविराम गर्ने विषयमा केन्द्रित हुनुपर्ने रहेका छन् । ट्रम्प र पुटिनबिच शिखर वार्ता हुने अमेरिकाको राज्य अलास्का पहिले रुसको अधीनमा थियो । तत्कालीन रुसका जार अलेक्जान्डर द्वितीयाले सन् १८६७ मा ७२ लाख डलरमा अमेरिकालाई बेचेका थिए ।