१४ असोज, काठमाडौं । हलले स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बिक्री खुला गरेका छन् । यो फिल्म बिहीबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना फ्रेन्चाइजमा २७ शो उपलब्ध गराएको छ । उपत्यकाबाहिर १७ शो प्रदान गरिएको छ । क्यूएफएक्सको यो शो संख्यामा बढोत्तरी हुनसक्ने देखिन्छ किनभने उक्त मितिमा अन्य नयाँ फिल्म छैनन् ।
आईएनआईले १६ शो दिएको छ । दर्शकको माग अनुसार फिल्मको अकुपेन्सीमा वृद्धि हुने आईएनआईका निर्देशक सुरेन्द्र थापाले बताए । उनका अनुसार हिन्दी फिल्म ‘देवरा’ले सोचे अनुसार अकुपेन्सी होल्ड नगर्दाको फाइदा ‘मेघौली’ले उठाउन सक्छ । वान सिनेमाज सहितका हलले पनि यो सोसल तथा कमेडी ड्रामा फिल्मको बुकिङ खुलाउने तयारी गरेका छन् । सो मितिमा अन्य फिल्म नभएको र प्रचारअघि नै फिल्मले चर्चा बटुलेकाले फिल्मको ओपनिङ सन्तोषजनक हुनसक्ने अनुमान छ ।
अब यो फिल्मले आफूले प्राप्त गरेका शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती छ । यसका लागि फिल्मले बलियो वर्ड अफ माउथ प्राप्त गर्नुपर्ने हुन्छ । ३० वर्ष उमेर पुगेकी युवतीले योग्य वर पाउन गर्नुपर्ने संघर्ष र हैरानीको कथावस्तुमा फिल्म बनेको छ । नेपाली समाजको जल्दो-बल्दो वैवाहिक प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, विजय बराल लगायतको अभिनय छ ।