काठमाडौँ, साउन २८ : अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गर्नुभएको छ। अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो। गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गर्नुभएको छ भने सङ्गीत फोसिल र नेप्सेकले तयार पार्नुभएको हो। गीतमा डार्क–पप, हिप–हप र नेपाली÷एसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताउनुभयो।

‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो। यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ। गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन्। यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उहाँले भन्नुभयो ।
बाल्यकालदेखि नै गीत-सङ्गीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, ‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो। मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ। गीतसङ्गीतको यही पक्षले मलाई यो पेशामा अगाडि बढ्न प्रेरित गरेको छ।’

गीतको भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन्। भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गर्नुभएको छ। भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाको रहेको छ भने छायाङ्कन विनोद श्रेष्ठले गर्नुभएको हो। भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ। उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











