बुधबार, पुष १०, २०८१

कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने


१४ असोज, कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लास्थित परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

चालु आर्थिक वर्षमा पाँच सय हेक्टर क्षेत्रफलमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले भने, ‘यस कार्यक्रममा प्राकृतिक ताल, पोखरीलाई प्राथमिकता दिइएको छ, नयाँ पोखरी १० हेक्टर क्षेत्रफलमा मात्रै बनाउने योजना छ, ४९० हेक्टर क्षेत्रफल प्राकृतिक पोखरीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रमको प्राथमिकतामा प्राकृतिक पोखरी, ताल रहेकाले बढी प्राकृतिक ताल, पोखरी भएका पालिकालाई ‘माछा जोन’का लागि छनोट गरिएको उनले जानकारी दिए । ‘कार्यक्रमको प्रक्रिया सुरु भइसकेको छ’, माछा जोन कार्यक्रमका लागि करिब १०० किसानले आवेदन दिनुभएको छ ।’ उनले भने ।

कार्यक्रम अन्तर्गत माछापालनका लागि नयाँ पोखरी निर्माण, पुराना प्राकृतिक ताल, पोखरी मर्मत लगायत कार्य गरिने उनको भनाइ छ । कार्यक्रममा किसानलाई माछापालनमा आवश्यक पर्ने कृषियन्त्र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उनले बताए । एकाइ प्रमुख जोशीका अनुसार चालु आर्थिक वर्षमा ‘माछा जोन’ कार्यक्रमका लागि एक करोड नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रमको उद्देश्य माछाको उत्पादकत्व बढाउने रहेको जनाउँदै उहाँले माछापालक किसानलाई विभिन्न तालिमसमेत उपलब्ध गराइने बताए ।

परियोजनाअन्तर्गत जिल्लाका विभिन्न पालिकामा ‘गहुँ सुपरजोन’ आर्थिक वर्ष २०७३/७४, ‘तेलहन जोन’ आर्थिक वर्ष २०७४/७५ र ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading