08/04/2025, 17:58:44

सेयर बजार ८.६२ अंक बढे, नेप्से २८६७ अंकमा, १० अर्ब ८२ करोडको कारोबार


१९ साउन, काठमाडौं : अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार १६ अंक बढेको थियो ।

गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो । आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १ : १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्‍यो भने २ : ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो । तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो ।

१४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो । आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे । सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।