08/03/2025, 18:25:34

भारतलाई हराउँदै नेपालका रवीन्द्र ढाँट बने म्याट्रिक्स फाइट नाइट बान्टमवेट च्याम्पियन


१८ साउन, बझाङ : भारतीय प्रतिस्पर्धीलाई हराउँदै नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका छन् । शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका हुन् । रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

मिक्स मार्सल आर्ट्स (एमएमए) मा आक्रामक फाइटिङ र रेस्लिङको नामले परिचित ढाँटले तेस्रो राउन्डमा कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । ढाँटले गरेको लगातारको प्रहारपछि कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए ।

यस जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ । भारतीय च्याम्पियन रहेका कोरेनको लगातार पाँच पटकको जितलाई रवीन्द्रले पूर्णविराम लगाएका हुन् । शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रको शान्त संयम र कुशल रणनीतिका अगाडि टिक्न सकेनन् ।

रवीन्द्रको जितपछि रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा फहराइएका थिए । बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्रको सफलतामा उनका समर्थकहरूले सामाजिक सञ्जालमा खुसियाली व्यक्त गरेका छन् । उनीलाई प्रधानमन्त्री केपी ओलीले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । गायिका रचना रिमाल सहित विभिन्न क्षेत्रका सेलिब्रिटीहरूले उनको खेलको प्रशंसा गर्दै बधाई दिएका छन् ।