१८ साउन, काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गर्दा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ। उक्त आर्थिक वर्षमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।
नेपालले विभिन्न १६३ मुलुकसँग व्यापार गरेकोमा तीमध्ये ३७ मुलुकसँग मात्रै नाफाको व्यापार भएको छ। बाँकी मुलुकसँग व्यापार घाटामा रहेको छ । नेपालले निर्यातभन्दा बढी आयात गर्दा व्यापार घाटा बढ्दो रहेको विभागको तथ्यांकले देखाउँछ ।
भारत, चीन, अर्जेन्टिना, युक्रेन, युएई, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकसँग व्यापार घाटा छ। भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ। भारतबाट डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, धान, मकै, फलाम/स्टिल, कोइला, बिटुमिनलगायत वस्तु आयात गरिएका छन्। यता, प्रशोधित सुर्यमुखी तेल, अलैंची, मिक्स जुस, धागो, सिमेन्टलगायत वस्तु भारततर्फ निर्यात गरिएका छन्।
यस्तै, चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा केवल २ अर्ब ६३ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ। चीनबाट मोबाइल फोन, विद्युतीय गाडी, स्याउ, ल्यापटप, लसुन, जुत्ताचप्पललगायतका वस्तु आयात गरिएका छन्। नेपालले गलैंचा, फेल्टका सामान, काठका सामग्री, यार्चागुम्बा, अगरबत्ती आदि चीनतर्फ निर्यात गरेको छ।
विभागका अनुसार अफगानिस्तान, डेनमार्क, रुस, रोमानिया, अस्ट्रियालगायतका मुलुकसँग व्यापार नाफामा रहेको छ। अफगानिस्तानबाट ८ करोड ४२ लाख ९७ हजार रुपैयाँको वस्तु आयात हुँदा नेपालले ७७ करोड ४ लाख १५ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। नेपालले मेलन, अन्जिर, सुकेको खुर्सानीजस्ता वस्तु अफगानिस्तानबाट आयात गरेको छ भने एक्स्काभेटरलगायतका मेसिनरी सामग्री मात्रै निर्यात गरेको छ।
डेनमार्कबाट ३६ करोड २६ लाख २२ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ७० करोड १५ लाख ३६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। डेनमार्कबाट सिरिन्ज, क्यामेराका पार्टपुर्जा, डाइपरलगायत वस्तु आयात गरिएका छन्। नेपालले फेल्टका सामान, पोते, जर्सी, जुत्ताचप्पल, स्कार्फ, अचारलगायत डेनमार्कमा निर्यात गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















