08/02/2025, 09:47:56

दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक


१६ साउन, काठमाडौं : पेरिस पारालिम्पिककी पदक विजेता पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पदक जितेकी छन् ।

मलेसियाको कुचिङमा भएको प्रतियोगितामा शुक्रबार पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।

जुलाई २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि अर्को पारालिम्पिक खेलाडी भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । टोली व्यवस्थापकमा राखेप सदस्य रामचन्द्र श्रेष्ठ छन् ।