श्रावण १३, काठमाडौँ : सोमबार दिउँसो करिब चार घण्टा नेपाल टेलिकमको फोरजी तथा भोल्टी सेवा अवरुद्ध हुँदा लाखौँ ग्राहक प्रभावित भए । इन्टरनेट सेवामा समस्या आउँदा देशैभरका टेलिकम ग्राहकलाई असुविधा भएको थियो । साँझ करिब साढे ५ बजेपछि मात्रै समस्या समाधान भएको टेलिकमले जानकारी दिएको थियो ।
टेलिकमको कोर नेटवर्क सिस्टम र बिलिङ सिस्टमबीचको इन्टरफेसमा ‘कन्फिगरेसन’ सम्बन्धी समस्या आएकाले फोरजी र भोल्टी सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।
डेटा नचल्दा कतिपय ग्राहकले ब्यालेन्स सकिएको वा मोबाइलको सेटिङ नै बिग्रिएछ कि भनेर झुक्किएको गुनासो गरे । बूढानीलकण्ठकी निर्जला थापाले त डेटा नचलेर नयाँ रिचार्जसमेत गरेको बताइन् । ‘दुई साताअघि मात्रै मन्थ्ली प्याक लिएकी थिएँ, कति छिटो सकिएछ भनेर नयाँ रिचार्ज गरेँ तर ब्यालेन्स सकिएको रहेनछ,’ उनले भनिन्, ‘फेसबुकमा टेलिकमको सूचना देखेपछि पो सिस्टमै बिग्रिएको थाहा पाएँ । घरमा इन्टरनेट नभएर डेटाबाट जुम मिटिङ गर्नु थियो, डेटा पनि नचलेपछि मिटिङ नै बस्न पाइनँ ।’
टेलिकममा यसअघि पनि पटक–पटक कोर नेटवर्क र बिलिङ प्रणालीमा समस्या आएर सेवा अवरुद्ध हुँदै आएको छ । टेलिकमको कोर नेटवर्क प्रणाली चिनियाँ कम्पनी, हुवावेले बनाएको हो ।
यसको अपरेसन (सञ्चालन) र मर्मत–सम्भारको जिम्मासमेत भेन्डरलाई दिइएको हुँदा टेलिकमका इन्जिनियर र प्राविधिकहरू आफैँले समाधान गर्न सक्ने अवस्था नरहेको टेलिकमका एक अधिकारीले बताए ।
टेलिकमकै कर्मचारी युनियनका नेताहरूले प्रणालीमा पटक–पटक समस्या दोहोरिनु शंकास्पद भएको प्रतिक्रिया दिएका छन् । टेलिकमका प्रणालीहरू भेन्डरको नियन्त्रणमा हुनुलाई उनीहरूले समस्याको मूल कारण भएको प्रतिक्रिया दिएका छन् । टेलिकमका इन्जिनियरले प्रणालीमा पूर्ण पहुँच नपाउने, सबै मर्मत र सञ्चालन भेन्डरकै जिम्मामा हुने भएकाले समस्या पत्ता लगाएर समाधान गर्न गाह्रो पर्ने उनीहरूको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकमका फोरजी ग्राहक संख्या १ करोड ३८ लाख ९५ हजार २ सय २२ छ ।
‘हामीकहाँ गोल्ड मेडलिस्ट इन्जिनियरहरू छन् तर उनीहरूले काम गर्ने अवसर नै पाउँदैनन्,’ नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष सुरेशप्रसाद रौनियारले भने, ‘नेपाल टेलिकम कोर सिस्टममै भेन्डरप्रति निर्भर छ । सबै सिस्टम चिनियाँ कम्पनीका हुन् । उसको कोर सिस्टम निजी दूरसञ्चार सेवा प्रदायकले प्रयोग गर्दा उता समस्या आउँदैन तर नेपाल टेलिकममा किन पटक–पटक समस्या आउँछ ?’
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सोमबार कोर सिस्टम र बिलिङ सिस्टमबीचको इन्टरफेसमा ‘कन्फिगरेसन’ सम्बन्धी समस्या आउँदा फोरजी तथा भोल्टी सेवा अवरुद्ध भएको हो । उनका अनुसार टुजी र थ्रीजी सेवा भने सञ्चालनमा थियो । ‘समस्या सँधै एउटै हुँदैन, कहिले कोर सिस्टम, कहिले बिलिङ त कहिले केमा समस्या आउँछ, प्रविधि क्षेत्रमा यो अस्वाभाविक होइन,’ उनले भने, ‘हाम्रा प्राविधिक र भेन्डर दुवैले मिलेर समस्या समाधान गर्छौं । हामी भेन्डरमा पूर्णनिर्भर छैनौँ, त्यो अफवाह हो ।’
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि यस घटनालाई गम्भीर रूपमा लिएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक मीनप्रसाद अर्यालले ग्राहकलाई असुविधा नहोस् भन्ने उद्देश्यले गुणस्तरसम्बन्धी मापदण्डहरू तोकिएको बताए । ‘पटक–पटक सेवा अवरुद्ध हुनु लापरबाही हो कि कमजोरी वा प्राविधिक त्रुटि हो, हामी अध्ययन गरेर एक्सन लिन्छौं,’ उनले भने, ‘प्राधिकरणले गुणस्तरका मापदण्ड समावेश गरेरै लाइसेन्स दिन्छ । दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी विनियमावली, २०७९ मा सेवा प्रदायकले कायम गर्नुपर्ने गुणस्तरका मापदण्ड किटान गरिएका छन् ।’
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीमा बारम्बार देखिने यस्तो सेवा अवरोधले ग्राहकलाई हैरानी मात्र दिएको छैन, देशको डिजिटल संरचनामाथि समेत गम्भीर प्रश्न उठेको टिप्पणी भइरहेको छ । यसअघि टेलिकमको बिलिङ प्रणाली अपग्रेडको क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा करिब ३३ करोडभन्दा बढी बिगो देखाइएको थियो । गत २४ असारमा अदालतले निलम्बित प्रबन्ध निर्देशक अर्याललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । नयाँ बिलिङ प्रणाली खवरद प्रक्रिया अहिले मूल्यांकनको चरणमा रहेको प्रवक्ता मानन्धरले जानकारी दिए ।