07/26/2025, 13:57:19

गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री


क्यानबेरा, ९ साउन : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ ।

शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताउनुभएको हो । गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उहाँले बताउनुभयो ।

उहाँले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो ।

उहाँले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।

निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उहाँले बताउनुभएको छ ।

अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।