07/21/2025, 17:54:31

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल


 काठमाडौँ, ५ साउनः पूर्वप्रधानमन्त्री तथा नेपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको दाहालको सचिवालयले जनाएको छ ।
“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष दाहाल भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।”
परिसङ्घका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गर्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..