07/09/2025, 20:42:07

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह


म्याग्दी, २५ असार : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।

पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ ।

धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताउनुभयो ।

नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाइएको छ । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन् ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्न सकिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउने सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ