२४ असार, काठमाडौं : मंगलबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य बढे पनि नेप्से परिसूचक झिनो अंकमा घटेको छ । आज १३३ कम्पनीको मूल्य बढ्यो भने ११५ को घट्यो । नेप्से परिसूचक ०.१४ अंक घट्यो । बढ्ने भन्दा घट्ने कम्पनीहरुको पूँजीकरण बढी भएकाले यस्तो प्रभाव देखिएको छ । सो गिरावटपछि नेप्से २६८३.८६ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडमा खुम्चियो ।
फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशत बढे । बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशत घटे । जीवन बीमा स्थिर रह्यो । आज बुटवल पावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ५.९६, रिभर फल्स पावरको ४.६९, ग्रिन डेभलपमेन्ट बैंकको ४.६२ तथा सयपत्री हाइड्रोपावरको ४.०७ प्रतिशत मूल्य बढ्यो ।
रसुवागढी हाइड्रोपावरको मूल्य आज सबैभन्दा धेरै ५.०८ प्रतिशत घट्यो । मंगलबार बिहानको बाढीका कारण सो कम्पनीले बनाएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना क्षति भई विद्युत् आपूर्ति बन्द भएपछि सेयर मूल्यमा नकारात्मक प्रभाव परेको हो । त्यस्तै भूगोल इनर्जीको ३.९२ तथा माथिल्लो मैलुङखोलाको ३.१४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक संस्थापक, राधि विद्युत् क्रमशः अगाडि रहे ।