जलेश्वर (महोत्तरी), २४ असार : डिभिजन वन कार्यालय महोत्तरीले जिल्लाको वन क्षेत्रमा वर्षौंदेखि घाटगद्दीमै कुहिन लागेको काठ बिक्री गरी तीन करोड सात लाख ७१ हजार ३५३ रुपैयाँ २६ पैसा राजस्व सङ्कलन गरेको छ ।
डिभिजन वन कार्यालय प्रमुख अजयकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ र सोभन्दा अघिल्ला वर्षहरुमा वन क्षेत्रबाट सङ्कलन गरिएका काठ बिक्री वितरण नहुँदा घाटगद्दीमै कुहिएर जान लागेको थियो । यस वर्ष ती काठहरु बिक्री गरी सो राजस्व सङ्कलन गरिएको हो ।
उहाँका अनुसार जिल्लामा रहेको साझेदारी, सामुदायिक र जिल्ला वन पैदावार आपूर्ति समितिको मातहतका वन क्षेत्रबाट काठ बिक्री गरिएको हो । जसअन्तर्गत तीन वटा साझेदारी वन क्रमशः बाँके मरहा, टुटेश्वरनाथ र गढन्ता साझेदारी वनले साललगायतका १४ हजार ७०० क्युविक फिट काठ बिक्री गरी रु एक करोड ७५ लाख तथा सालबाहेकका ४५ हजार ४०० क्युविक फिट काठ बिक्री गरी रु ३३ लाख ५० हजार राजस्व सङ्कलन गरेको हो ।
जिल्लाका सामुदायिक वन क्रमशः रातु महिला, सरस्वती, प्रशाही र भुल्के सामुदायिक वनले चार हजार ११५ क्युविक फिट काठ बिक्री गरी रु ४५ लाख २० हजार २४ सङ्कलन गरेको हो ।
त्यसैगरी जिल्ला वन पैदावार आपूर्ति समितिले जिल्लाका १५ वटै स्थानीय तहका ७३ जना उपभोक्तालाई तीन हजार ७६७.०१ क्युविक फिट काठ बिक्री गरी ५४ लाख एक हजार ३२९ रुपैयाँ २६ पैसा राजस्व सङ्कलन गरेको डिभिजन वन कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।
उहाँले वर्षौंदेखि वनका घाटगद्दीमा कुहिन थालेका काठलाई चालु आवमा प्रक्रिया पु-याएर बिक्री गर्दा विभिन्न साझेदारी वन उपभोक्ता समिति र सामुदायिक वन उपभोक्ता समितिसहित जिल्ला वन पैदावार आपूर्ति समितिले करोडौँ राजस्व सङ्कलन गरेको बताउनुभयो ।