07/07/2025, 15:14:51
कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी


कर्णाली, २३ असार : श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरुलाई प्रोत्साहन हुने बताउनुभयो । “स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणमा ठूलो सहयोग पुगेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “यद्यपि यस्तो महत्त्वपूर्ण कार्यक्रम आगामी आर्थिक वर्षमा जेठ मसान्तभित्र सक्ने गरी सञ्चालन गर्नुपर्दछ ।

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताउनुभयो । उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

उद्योग मन्त्रालयका कायमुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवर्द्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा जोड दिएर महिला, अपाङ्गता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ ।

प्रदर्शनीमा यहाँ उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरु राखिएका थिए । प्रदर्शनीले उद्यमीलाई थप प्रोत्साहन दिएको छ । उक्त प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमश रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी, ‘कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२’ का अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्र छात्राहरुलाई रु १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा ६५ स्टल राखिएका थिए । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ