07/06/2025, 23:16:29

गाजा युद्धविराम वार्ताका लागि इजरायली वार्ताकार कतार जाने


जेरूसेलम, २२ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूले यसअघि नै द्वन्द्वको मुख्य मध्यस्थकर्ता कतारमा एक टोली पठाउने घोषणा गर्नुभएको थियो, यद्यपि, उहाँले अमेरिका समर्थित युद्धविराम सम्झौताको मस्यौदामा हमासको प्रतिक्रियामा केही ‘अस्वीकार्य’ मागहरू समावेश भएको बताउनुभएको थियो । गाजामा युद्धको २२ औं महिना नजिकिदै गर्दा युद्ध अन्त्यका लागि बढ्दो मागको सामना गरिरहेका नेतान्याहुले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा पट्टीमा रहेका बन्धकहरूलाई फिर्ता गर्न माग गर्दै शनिबार इजरायली प्रदर्शनकारीहरू इजरायलको तटीय केन्द्र तेल अभिभमा भेला भएका छन् । बन्दी गाली र जिभ बर्मनकी काकी म्याकाबित मेयरले ‘सबैलाई बचाउने’ सम्झौताको लागि आह्वान गर्नुभयो । हमासले शुक्रबार वार्तामा ’तत्काल र गम्भीरतापूर्वक संलग्न हुन’ तयार रहेको बताइसकेको छ ।

नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ कतारको प्रस्तावमा इजरायलले सहमति जनाएको छ र छलफल गर्न वार्ताकारहरू पठाउँदैछ ।  उहाँले भन्नुभयो, हमासले कतारको प्रस्तावमा गर्न चाहेको परिवर्तन इजरायलका लागि अस्वीकार्य हुनेछ ।

गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली सेनाको कारबाहीमा परी १४ जनाको मृत्यु भएको जनाएको छ । गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ एएफपीले नागरिक सुरक्षा एजेन्सीले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न असमर्थ भएको छ ।

एएफपीसँग सम्पर्क गर्दा इजरायली सेनाले निश्चित समन्वय बिना कुनै खास आक्रमणबारे टिप्पणी गर्न नसक्ने बताएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ