गाजा सिटी, २० असार : प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास)ले शुक्रबार इजरायलसँगको युद्ध रोक्न गरिएको युद्धविराम प्रस्तावमा अन्य प्यालेस्टिनी आन्दोलनसँग परामर्श गरिरहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी गरेको आक्रमणपछि हमासलाई नष्ट गर्ने र लडाकूहरूले कब्जा गरेका सबै बन्धकहरूलाई घर फर्काउने उद्देश्यसहित इजरायलले गाजामा ब्यापक आक्रमण सुरु गरेको थियो । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा यसअघि भएका दुई युद्धविराममा प्यालस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको फिर्तीसँगै युद्धमा अस्थायी रूपमा रोक लगाइएको छ ।
“हमासले प्यालेस्टिनी सेना र गुटका नेताहरूसँग मध्यस्थहरूबाट प्राप्त प्रस्तावको बारेमा परामर्श गरिरहेको छ,” हमासले शुक्रबार बिहान जारी एक विज्ञप्तिमा भनेको छ । यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा लडाकुहरूले लगेका सबै बन्धकहरूलाई घर फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सन् २०२३ को हमास आक्रमणमा सबैभन्दा बढी बन्धक बनाइएका समुदाय निर ओज किबुट्जका बासिन्दालाई सम्बोधन गर्दै नेतन्याहूले भन्नुभयो, “म सबैभन्दा पहिले हाम्रा सबै अपहृत व्यक्तिहरूको फिर्ती सुनिश्चित गर्न गहिरो प्रतिबद्धता व्यक्त गर्दछु ।”
ट्रम्पले बिहीबार गाजाका जनताको लागि ‘सुरक्षा’ चाहेको बताउनुभएको थियो । “म गाजाका जनताको सुरक्षा हेर्न चाहन्छु । उनीहरूको अवस्था अत्यन्त्यै दयनीय छ,” उहाँले भन्नुभयो ।