१ असोज, काठमाडौं । नेपालमा पेट्रोल र हाइड्रोजन दुवैबाट चल्ने कारको परीक्षण गरिएको छ । रिन्यु जेन रिसोर्सेस् नेपालले पुल्चोक इन्जिनियरिङ क्याम्पस र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोजन दुवैबाट चल्ने कारको सोमबार परीक्षण गरेको हो । यसलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ । कार निर्माणको नेतृत्व रिन्यु जेन रिसोर्सेसका हाइड्रोजन विज्ञ डा. प्रकाश थापाले गरेका थिए । थापाले यो प्रविधि दक्षिण एसियामै नौलो भएको बताए । यस प्रविधिको थप विकास गर्न सके पुराना र थन्काइएका सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने जानकारी दिए ।
रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा. प्रमोद टण्डनका अनुसार हाइड्रोजन कम्बसन इन्जिन नेपालमै विकास गर्ने सम्बन्धी समझदारी पत्रमा गत नोभेम्बरमा हस्ताक्षर भएको थियो । उनले भने, ‘अहिले चलनचल्तीमा रहेका सवारी साधनकै इन्जिनमा सामान्य फेरबदल गरेर, थोरै खर्चमा यो बनाउन सकिन्छ ।’
यसअघि काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने कारको सफल परीक्षण गरेको थियो । अहिले दुवैबाट चल्ने इन्जिन विकसित मुलुकहरूमा सफल परीक्षण भइसकेको र व्यापारिक प्रयोजनमा समेत गइसकेको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्रा यो प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो भएको बताउँछन् । ‘हाइड्रोजन फ्युल सेल मोडलभन्दा थोरै परिवर्तन गरेर डुअल मोडलमा हाइड्रोजनसँगै पेट्रोल–डिजल राखेर चलाउन सकिने हुँदा आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ,’ उनी भन्छन् ।
रिन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालले हाइड्रोजन कम्बसन इन्जिन अहिले नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेका सबैजसो सवारी साधनमा प्रयोग गर्न सकिने बताए । ‘पेट्रोल वा डिजेलबाट चलिरहेका कारलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने बनाउन थोरै खर्च लाग्छ ।’ यसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादन बढाउन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको उनको भनाइ छ ।
गत माघमा बसेको मन्त्रिपरिषद् बैठकले ग्रिन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि भने बनेका छैनन् । जसले गर्दा यस्ता इन्जिन भएका गाडी सञ्चालनमा समस्या छ । भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले यसको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘हाइड्रोजन प्राकृतिक रूपबाट प्राप्त गर्न सकिन्छ । त्यसकारण यसको उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार छ ।’
कार परीक्षणमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधि सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन वैकल्पिक ऊर्जा र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तत्पर छ ।’