काठमाडौँ, ९ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐन/कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद, कैलाश चौधरी, माया पन्त र जानकीदेवी कुँवर समाहितटोलीले अध्यक्ष दाहालसँग भेट गरी सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो ।
उहाँहरूले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गर्दा प्रदेशका सरोकारहरूलाई पनि सम्बोधन गर्नुपर्ने, प्रदेशलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउनुपर्ने लगायतका विषय पनि राख्नुभएको थियो ।