06/22/2025, 13:55:03

डोकामा पानी बोक्ने दिन गए, धजे–मकरजुङ गाउँका घरमै धारा


इलाम, ८ असारः सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भन्नुभयो । साठी वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।

विसं २०७५ देखि सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताउनुभयो । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।

शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गर्नुभयो ।

अब धजे–मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ