06/22/2025, 14:53:09

चलचित्रका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न सकिने


कर्णाली, ८ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्न सफल नारीप्रधान चलचित्र ‘सतिदेवी’ चेतनामूलक चलचित्र भएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले चलचित्रका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न सकिने बताउनुभयो ।

प्ले फर चेन्जद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा विशेष प्रदर्शनी तथा कर्णालीका उत्कृष्ट नारी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले चलचित्रमा देखिएको भन्दा कर्णाली धेरै माथि उठेको बताउनुभयो । समाजमा छोरा पाउने नाममा छोरीले भोग्नुपरेको यथार्थतालाई उजागर गरी निर्माण गरिएको चलचित्रले बोलेको कुरा स्वयं निर्माता निर्देशकले पनि व्यवहारमा उतार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “संविधान, सङ्घीयता र समानुपातिक एवं समावेशिताको मर्म बोकेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नेपाली समाजको चेतनास्तर विगतभन्दा उचाइमा पुर्याएको छ । यद्यपि परम्परागत सोच र धारणालाई पूर्ण रूपले परिवर्तन गर्न अबको नवपुस्ताले विशेष योगदान दिनुपर्छ । अनिमात्र हरेक समाज शान्त र समृद्ध बन्दछ ।

प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले कर्णालीको कुप्रथा, कुसंस्कार र कुरीति हटाउने ध्येयले निर्माण गरिएको चलचित्रले समाजको बिम्ब प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार पुरुषको स्थान र तहमा पुग्न नेपाली महिलाले वर्षौँदेखि साहसका साथै ठूलो त्याग गरेको बताउनुभयो ।

चलचित्र निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले नारीका पीडा, वेदना, व्यथा र विवशतालाई समेटेर बनाइएको चलचित्र ‘सतिदेवी’लाई दर्शकले अपार माया दिँदा थप केही गर्ने हौसला मिलेको बताउनुभयो । चलचित्रले समाजको वास्तविक यथार्थलाई चित्रद्वारा प्रष्ट्याएको उहाँको भनाइ थियो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका कर्णालीका नारीहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ