06/18/2025, 23:23:19

गायक श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने


काठमाडौँ, ४ असारः पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहनुभएका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ ।

विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

उहाँले सङ्गीत क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यस वर्ष दीर्घसाधना सम्मान प्रदान गर्ने घोषणा गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो । उक्त सम्मानको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले चार सय बढी गीत गाउनुभएको छ । प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौ जना स्रष्टाको नामावली सार्वजनिक गरेको छ ।

यही असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिनुभयो । यस्तै ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ ।

खोज तथा अनुसन्धान नृत्य विधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोकगायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय सङ्गीत साधक कुशेश्वरप्रसाद राईलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ