06/16/2025, 03:22:56

वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण


काठमाडौँ, १ असारः जीव, जगत् र जीवनको चर्चासम्बन्धी विषयवस्तु समेटिएको समाजशास्त्री वरुणकान्त अधिकारीको कृति ‘प्रकृतिको मन’ लोकार्पण गरिएको छ ।

जानकारीमूलक, उत्पे्ररक र आम पाठकका लागि उपयोगी प्रबन्धनात्मक उक्त साहित्यिक रचनाको आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ प्राडा जयराज आचार्यले लोकार्पण गर्नुभयो ।

पुस्तकमा सभ्यताको विकाससँगै मानव चेतनाले प्रमाणित गरेका, धारणा बनाइएका, विश्वास गरेका, कल्पना र अनुमान गरेका गहन विषयवस्तु समेटिएको छ । ज्ञान र विज्ञानको आलोकमा जीवको अस्तित्व, मानव विकासक्रम, अन्तरिक्ष, समय, मानवमन, मानव सम्यता, जीवन दर्शन जस्ता गहन र रहस्यमय विषयवस्तु समावेश कृतिले पाठकको ज्ञानको स्तर अभिवृद्धि गर्ने लेखक अधिकारीले बताउनुभएको छ ।

सृष्टिका विविध रहस्यप्रति अभिरुचि गराउनु, युवा पुस्तालाई अध्ययन, अनुसन्धान र अन्वेषण कार्यमा अभिप्रेरित गर्दै ज्ञानका माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन कृति अध्ययनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस अवसरमा प्राडा आचार्यले जीव, जगत् र जीवनको चर्चा गरिएको प्रकृतिको मन शीर्षक कृतिमा समेटिएका विषयले मन अद्भुत चीज रहेछ भन्ने स्पष्ट पार्न कोसिस भएको बताउनुभयो । उहाँले विश्व ब्रह्माण्डमा सूर्य, चन्द्रमा, पृथ्वी, मङ्गल, बुध जस्ता ग्रह र नक्षत्रका बीचमा सृष्टिका हिसाबले सानो कणका रुपमा रहेको मानवले त्यस्ता विषयवस्तुको अध्ययन र अनुसन्धान गरी वास्तविकता बाहिर निकाल्ने काम चुनौतीका बीचमा पनि सम्भव तुल्याएको धारणा राख्नुभयो ।

खगोलशास्त्री डा प्रेमराज ढुङ्गेलले प्रकृति नै सर्वेसर्वा हो भन्ने कोणबाट अर्थशास्त्र, समाजावाद, भौतिकवाद, राजनीतिक, मानवशास्त्रलगायतका विषयवस्तुलाई गहि¥याइसम्म पुगेर ठेट र झर्राे शब्द प्रयोग भएको पुस्तक जुनसुकै शैक्षिक योग्यता भएकाले सजिलै बुझ्न सक्ने बताउनुभयो ।

वनस्पतिविद् डा महेन्द्रनाथ सुवेदीले शून्यताको आत्मकथा, समय र अस्तित्व, जीवन दर्शनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तकमा समयलाई पैसाले देख्ने कस्तो मनुष्य हो भन्ने पक्ष चाखलाग्दो रहेको धारणा राख्नुभयो ।

समाजसेवी गायत्री अधिकारीले कृतिमा विज्ञान, समाजशास्त्र, मानवशास्त्रलगायतका मानवले ध्यान दिनुपर्ने र जान्नुपर्ने धेरै महत्वपूर्ण विषय समेटिएको बताउनुभयो ।

क्रम विकास, समय र अस्तित्व तथा जीवन दर्शन गरी तीन भागमा विभाजित कृतिमा जीवनको आरम्भ र विकास, सुन्दरीका सन्तान, पुर्खाको विरासत, समय सुन्दर, सौर्यमण्डल, आकाश दर्शन, मनको साम्राज्यलगायत शीर्षकमा विविध विषयवस्तु समेटिएको छ ।

अनिता शर्मा पौड्याल प्रकाशक तथा प्रगति पुस्तक सदन वितरक रहेको ३५४ पृष्ठको उक्त कृतिको मूल्य रु ९७५ रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ