06/16/2025, 03:21:53

३० हजारले अवलोकन गरे ललितकला प्रदर्शनी


काठमाडौँ, १ असारः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८२ तीस हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले गत जेठ १५ देखि ३१ गतेसम्म सम्पन्न प्रदर्शनीमा कलापारखीको उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रदर्शनी सफल बनाउन सहयोग गर्ने सातै प्रदेश तथा केन्द्रका सङ्घसंस्था, कलापारखी तथा सहयोगी प्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीयस्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिनेगरी कार्यक्रमसहित प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलालाई स्थानीयस्तरबाट केन्द्र हुँदै विश्वमा पुग्नका लागि महत्वपूर्ण सहयोग मिलेको अनुभव गरेका छौँ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा पुरस्कृत, सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई बधाई दिँदै प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने जानकारी गराउनुभयो ।

प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६०० बढी कलाकारका ६५० कलाकृति राखिएको थियो । समसामयिक चित्रकला÷मूर्तिकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति थियो ।

गणतन्त्र दिवसका अवसर पारेर यही जेठ १५ गतेदेखि सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनी समय सापेक्षित रूपमा अघि बढेको छ । नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तरराष्ट्रियकरण गर्न सफल भएको छ ।

सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएकाले यसले प्रतिभाको पहिचान गर्न सहज भएको छ । साथै नेपाली ललितकलाको अवस्था र गर्नुपर्ने कार्यका बारेमा समेत नजिकबाट नियाल्न सहज भएको छ ।

उहाँले प्रदर्शनीले मौलिकताको जगेर्नासँगै नेपाली सभ्यता र सांस्कृतिक वैभवतालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सदस्यसचिव थुम्केलीले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवद्र्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै÷गराउँदै आएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठूलो ललितकला प्रदर्शनी एक महोत्सव पनि हो ।

प्रदर्शनीलाई सम्पूूर्ण कलाकार, कलामर्मज्ञ, कला सरोकारी एवं कलापारखी व्यक्तिव्यक्तित्वहरूले महोत्सवका रूपमा मनाउँदै आइरहेका छन् । प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गरेको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ