२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार छलफल भएको छ।
‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत विषय हुनसक्छ ।’
बालुवाटारमा उनीहरूबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषद्को बैठक शुक्रबार (भोलि) बस्दैछ। बुधबार पाँच बजेलाई बैठक आह्वान भएकोमा प्रमुख प्रतिपक्षी लगायत दलसँग परामर्श गर्नुपर्ने भएकाले सारिएको थियो।
त्यस्तै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक विषयमा पनि कुराकानी भएको सचिवालयले जानकारी दिएको छ।